नेपाल निर्वाचन: नयाँ मतदाताहरूले मतदाता परिचयपत्र कहिले र कसरी पाउलान्?

निर्वाचन आयोगका कर्मचारी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, निर्वाचन आयोगमा फोटो सहितको मतदाता नामावली प्रिन्टको काम धमाधम भइरहेको अधिकारीहरूले बताएका छन्
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

फागुनको चुनावका लागि केही महिना अगाडि नाम गर्दा गराएकाहरूले अब भोट हाल्न आवश्यक परिचयपत्र प्राप्त गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ।

भदौको जेनजी आन्दोलनपश्चात् घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनका निम्ति नयाँ युवापुस्तालाई समेट्न नामावली सङ्कलन विशेष अभियान सञ्चालन गरिएको थियो।

त्यसमा पछि राष्ट्रिय परिचय पत्र भएकाहरूले अनलाइनबाटै नाम दर्ता गराउन मिल्ने गराइएपछि धेरै नयाँ मतदाता थपिएका थिए।

तिनले अब मतदाता परिचय पत्र कसरी प्राप्त गर्न सक्छन् त?

कसरी पाउने मतदाता परिचय पत्र?

निर्वाचन घोषणा भएपछि खुलेको अभियानमा ८ लाख ३७ हजार ९४ जना मानिसहरूको नाम मतदाता नामावलीमा थपिएको थियो।

तीमध्ये ४ लाख ९२ हजार १८० जनाले राष्ट्रिय परिचय पत्र प्रयोग गरेर आवेदन दिएका थिए भने बाँकीले सम्बन्धित निर्वाचन कार्यालयहरूमा गएर आवेदन भरेका थिए।

खासगरि अनलाइनबाटै राष्ट्रिय परिचयपत्रको प्रयोग गरेर आवेदन ��रेकाहरूलाई आयोगले एसएमएसबाटै आवेदन सफलतापूर्वक दर्ता भएको जानकारी र मतदाता परिचयपत्र नम्बर पठाएको थियो।

नयाँ मतदाताहरूको नाम सम्बन्धित मतदान केन्द्रको मतदाता नामावलीमा समाविष्ट गरिएका छन्।

अब उनीहरूका लागि मतदाता परिचय पत्र बनाएर बाँड्ने काममा आयोग लागिरहेको अधिकारीहरूले बताएका छन्।

"चुनाव घोषणा भएपछि थपिएका ८ लाख चानचुन अनि २०७९ सालको निर्वाचनपश्चात् विभिन्न समयमा नाम दर्ता गराएकाहरू समेत गरी करिब १०-११ लाख मतदाताहरूलाई परिचय पत्र दिनु पर्नेछ। त्यसका लागि काम गरिरहेका छौँ," आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए।

मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूको उत्साह धेरै देखिएको थियो

उनका अनुसार ती नयाँ मतदाताहरूको परिचय पत्र तयार भएपछि आयोगले सूचना निकाल्छ। उक्त सूचनामा कसरी परिचय पत्र लिने भनेर खुलाइने घिमिरेले बताए।

"सामान्यतया दुई किसिमबाट परिचय पत्र बाँडिन्छ। एक त सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरूबाट अनि अर्को चाहिँ चुनाव गराउन मतदान केन्द्रमा खटिएकाहरूले मतदानको दिनभन्दा दुई-तीन दिन अगाडि परिचय पत्र बाँड्न सक्छन्।"

कथंकदाचित कुनै कारणले परिचय पत्र तयार पार्न सकिएन वा भ्याइएन भने आयोगले छुट्टै निर्णय गरेर मतदाता नामावलीमा नाम अङ्कित भएकाहरूलाई अन्य परिचय पत्रको आधारमा मतदान गर्न दिने व्यवस्था गर्न सक्ने उनले बताए।

अहिले आयोगले फोटो सहितको मतदाता नामावली धमाधम प्रिन्ट गर्दै सम्बन्धित क्षेत्रमा पठाउन थालेको उनले जानकारी दिए। "जिल्लाहरूमा मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा एक खेप नामावली पठाइसकिएको छ। अर्को तीन खेप पठाउन आवश्यक पर्छ जुन आयोगमा प्रिन्ट भइरहेको छ। अन्य निर्वाचन सामग्री, मतपत्र आदिसँगै तिनलाई पठाइने छ," घिमिरेले भने।

निर्वाचन आयोगका पूर्व कार्यवाहक प्रमुख आयुक्त दोलखबहादुर गुरुङ चुनावको मुख्य उद्देश्य विश्वसनीय ढङ्गले सबै मतदातालाई सहभागी गराउनु हुनु पर्ने ठान्छन्।

"मतदाता परिचय पत्र बाँड्न सके राम्रो तर नसके पहिलाजस्तै परिचय खुल्ने अन्य कागजात लिएर आएका मानिसहरू, जसको नाम मतदान केन्द्रको नामावलीमा छ, लाई सहभागी गराउनु पर्छ," उनले भने।

नाम दर्ताको उत्साह

भदौ २७ मा गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा निर्वाचन गर्ने मिति घोषणा गरेको थियो।

सामान्यतया निर्वाचनको मिति घोषणापश्चात् नयाँ मतदाताहरूको दर्ता गर्ने नियमित प्रक्रिया स्थगित हुने गर्थ्यो। तर यसपालि बढीसेबढी नवयुवा पुस्ताका मतदातालाई समेट्न निर्वाचन आयोगले असोज ९ गतेदेखि मतदाता सङ्कलन अभियान थाल्यो।

सुरुमा कार्तिक ३० गतेसम्म चलाइने भनिएको उक्त अभियानमा धेरैले सहभागिता जनाएपछि मंसिर ५ गतेसम्म नाम दर्ता गर्न समय थपिएको थियो।

नाम दर्तामा देखिएको जस्तै उत्साह मतदानमा पनि कायम राख्न सक्नु पर्ने जानकारहरू बताउँछन्।

"माहौलको हिसाबबाट त निर्वाचनप्रतिको उत्साह बढ्दै गएको देखिन्छ। तर अझै पनि अदालतमा मुद्दामामिलाले मानिसहरूको मनमा एउटा आशङ्का बाँकी रहेको पाइन्छ। यति धेरै काम भइसकेपछि अन्यथा निर्णय भयो भने अर्बौँ रुपैयाँको नोक्सानी हुन सक्छ," गुरुङले भने।

उनले मतदान गर्न जानबाट मतदाताहरूलाई रोक्न सक्ने अन्य केही कारणहरूबारे पनि सचेत रहनु पर्ने बताए। "एउटा त मौसम हो। उच्च भूभागमा निर्वाचन मितिको आसपासमा हिउँ पर्‍यो भने कठिनाइ हुन्छ। अर्को दुर्गममा यातायातको सुविधा नहुन सक्छ।"

"मतदाता नामावलीमा नाम दर्ता गर्न त अनलाइन माध्यमबाट पनि सकिएको हुनाले धेरै थपिए। तर तीमध्यै कैयन् विदेशमा रहेकाहरू हुन सक्छ अनि कैयन् अन्यत्र जिल्लामा रहेकाहरू हुन सक्छ। त्यसैले अपेक्षाबमोजिम नै मतदानमा सहभागिता पनि बढ्छ भनेर भन्न सकिन्न।"

नेपालमा विगतका निर्वाचनहरूमा सामान्यतया ६० देखि ७० प्रतिशतसम्म मत खसेका पाइन्छन्।

यसपालिको निर्वाचनमा ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष अनि २०० अन्य गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेको आयोगले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।