'सुत्ने सैनिक विधि'ले तपाइँ दुई मिनेटमा निदाउन सक्नु हुन्छ?

सोफामा निदाइरहेका सैनिक पोशाक लगाएका व्यक्ति

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भाइरल भएको सुत्ने विधिले मानिसहरूलाई निद्रा पर्नबाट वास्तवमा रोक्ने विज्ञहरूले बीबीसीलाई बताएका छन्
    • Author, केट बोई
    • Role, ग्लोबल हेल्थ, बीबीसी विश्व सेवा

सबै जना सकेसम्म छिटो निदाउन चाहन्छन्। तर विश्वभरि नै दशौँ लाख मानिसहरू ओछ्यानमा पुगेर पनि छिट्टै निदाउन सक्दैनन् वा 'इन्सोम्निआ'का बिरामी हुन्छन्।

कति मानिसहरू यस्तो समस्यामा छन् भन्ने आकलनहरूमा एकरूपता छैन तर पाँचदेखि ५० प्रतिशतसम्म मानिसहरू अनिद्रा रोग 'इन्सोम्निआ'बाट पीडित भएको ठानिन्छ।

कैयौँ मानिसहरू निदाउने उपाय खोज्दै बिछ्यौनामा कोल्टे फेरिरहन्छन्। अनि कतिपयले चाहिँ दुई मिनेटमै निदाउन सैनिकहरूले अपनाउने दाबी गरिएको 'मिलिट्री स्लिप मेथड' जस्ता उपायको पनि खोजी गर्छन्।

यो ट्रेन्ड टिकटकमा लोकप्रिय छ। क्रिएटरहरूले राखेका करिब तत्कालै जसो निदाउन सघाउने दाबी गरिएका भिडिओहरू दशौँ लाख मानिसहरूले हेरेका छन्।

तर यो भाइरल विधिले "भयानक" अपेक्षा जगाएर तपाईँको निदाउने क्षमतामै असर गर्ने विज्ञहरूले बीबीसीसँग बताएका छन्।

सैनिकहरूले निदाउनका लागि साँच्चिकै प्रयोग गर्ने गरेको दाबी गर्दै उनीहरूले गैर सैनिकहरूका लागि पनि यो विधि प्रयोग गरेर हेर्न सक्ने बताउने गरेका छन्।

'मिलिट्री स्लिप मेथड' के हो

यो विधिको अवधारणा सन् १९८१ मा प्रकाशित पुस्तक "रिल्याक्स एन्ड विन" मार्फत् अमेरिकी ट्रयाक एन्ड फिल्ड प्रशिक्षक लोइड "बड" विन्टरले अघि सारेका हुन्।

दोस्रो विश्वयुद्धका समयमा अमेरिकी नौसेनाका लडाकू विमानचालकहरूको प्रशिक्षण केन्द्रका लागि विन्टरले यो विधि तयार गरेका थिए। जसकारण उच्च तनावको अवस्थामा पनि सैनिकहरू राम्रोसँग निदाउन पाउन् र उनीहरूको प्रदर्शन राम्रो रहोस् भन्ने उनको अपेक्षा थियो।

उक्त पुस्तकमा तुरून्तै निदाउन प्रशिक्षार्थीहरूलाई गर्न भनिएका कुरा निम्न छन्:

  • बिस्तारै लामो श्वास लिँदै निधार, तालु, बङ्गारा र अनुहारलाई पालैपालो तनावमुक्त बनाउँदै आराम दिनु
  • काँध लुलो हुन दिनुहोस् र लामो श्वास लिएर छोड्नुहोस्। छाती खुकुलो बनाउनुहोस्।
  • तपाईँको पाखुरालाई कुर्सी वा बिछ्यौनामा पुरै छोड्दिनुहोस्। बिस्तारै माथिल्लो पाखुरा बाइसेप, तल्लो पाखुरा फरआर्म र हातको पञ्जा तिर ओर्लिँदै तनावमुक्त बनाएर आराम अवस्थामा ल्याउनुस्। यो प्रक्रिया अर्को हाततर्फ पनि दोहोर्‍याउनुहोस्।
  • तिघ्राबाट सुरु गरेर, पिडौँला, गोलीगाँठा र पैतालासम्म खुट्टालाई पनि खुकुलो बनाउँदै आराम दिनुहोस्। अर्को खुट्टामा त्यही दोहोर्‍याउनुहोस्।
  • अब मस्तिष्क खाली गर्नुहोस् र एउटा मनोरम शान्त दृश्यको परिकल्पना गर्नुहोस्। उनी वसन्त ऋतुको न्यानो दिन वा शान्त रमणीय तालको कल्पना गर्न सुझाव दिन्छन्।
  • यदि अझै आवश्यक पर्‍यो भने "म केही पनि सोच्दिन" भन्ने वाक्यांशलाई बारम्बार मनमा दोहोर्याएर कम्तीमा १० सेकेन्डको लागि भएपनि दिमागमा आएका सबै कुरा हटाउनुहोस्।

विन्टरले छ हप्तासम्म यो विधिको अभ्यास गरेमा हवाई बेसमा काम गर्ने एभिएटरहरू "दिन वा रातको जुनसुकै समयमा र जस्तोसुकै अवस्थामा पनि" दुई मिनेटमै निदाउन सक्ने दाबी गरेका थिए।

'यसले तपाइँलाई निरास बनाउन सक्छ'

विज्ञहरूले चाहिँ यस्तो तीव्र गतिमा निद्रा पर्नेअपेक्षाले तपाईँको निदाउने प्रयासलाई कमजोर बनाउने चेतावनी दिएका छन्।

"यो विधिबाट तपाईँ निदाउन सक्नुहुन्छ र अझ दुई मिनेटमै निदाउन सक्नुहुन्छ भन्नु भयानक विचार हो," सैन्य स्नायु वैज्ञानिक तथा निद्राविज्ञ डा एलिसन ब्रेगर भन्छिन्।

सामान्य मानिसलाई निदाउन पाँच देखि २० मिनेटसम्म लाग्छ। त्यसकरण जम्मा दुई मिनेटमा निदाउने प्रयास गर्दा तपाईँ निराश हुन वा अझै कम निदाउन पनि सक्ने जोखिम हुन्छ।

"इमानदारीपूर्वक भन्दा असम्भव कुराको प्रयास गर्दा तपाईँ अझै निराश हुन सक्ने जोखिम रहन्छ," उनी थप्छिन्। र यदि तपाईँ साँच्चिकै दुई मिनेटमा निदाउनु नै भयो भने पनि यो अनिद्राको दीर्घ समस्या वा पहिचान नभएका निद्रा सम्बन्धी समस्या तपाईँमा रहेको सङ्केत हो।

ब्रेगर सैनिकहरूले यो अभ्यास गरिरहेकोबारे जानकारी आफूसँग पनि रहेको बताउँछिन्। तर सैन्य पेसाको अत्यन्तै थकान हुने प्रवृत्तिका कारण कोही मिनेटभरिमै निदाउनु अनौठो नभएको उनको दाबी छ।

त्यसो भए कसरी छिटो निदाउने?

मनोचिकित्सक र निद्रा सम्बन्धी उपचारका परामर्शदाता डा ह्यू सेल्जिक अनिद्राका गैरसैनिक बिरामीले यो विधिबाट कम सफलता पाउने सम्भावना रहने बताउँछन्।

"सामान्य रूपमा भन्दा यो अभ्यास गरेका बिरामीहरूले आएर काम नगरेको मलाई सुनाएका छन्। काम गरेको भए त उनीहरू मसँग किन आइपुग्थे र," उनले बीबीसी विश्व सेवासँग भने।

अनिद्राका बिरामीहरू सकेसम्म छिटो निदाउन चाहन्छन् तर त्यसमा सफल हुनु मात्रै सधैँ समस्याको समाधानको सङ्केत होइन।

"यदि तपाईँ लामो समयदेखि निदाउन सङ्घर्ष गरिरहनु भएको छ भने राम्रो निद्रा तपाईँको आदर्श कुरा हुन् र यसलाई सबैभन्दा उत्तम कुरा ठान्नु स्वाभाविकै हो," युनिभर्सिटी कलेज लन्डन अस्पतालका निद्रा क्लिनिक प्रमुख सेल्जिक भन्छन्।

"यदि तपाईँ दिनभरि चनाखो र आराम पुगेको महसुस गर्नुहुन्छ भने तपाईँलाई निद्रा राम्रो परिरहेको छ," उनले भने।

सैन्य पोशाकमा निदाइरहेका व्यक्तिहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, उच्च तनाव हुने जिम्मेवारीमा खटाइएका सैनिकहरूलाई छोटो प्राविधिक निद्रा लिन सल्लाह दिइन्छ

लामो समयदेखि आठ घण्टाको सुताई सबैभन्दा आदर्श मानिन्थ्यो। तर यो लक्ष्यले पनि अनावश्यक दबाव सिर्जना गर्छ।

"आठ घण���टाको सुताई पनि मिथक मात्रै हो। यो विनाशकारी मिथक हो," उनी भन्छन्।

वास्तवमा अध्ययनहरूले के देखाएका छन् भने सुताइको मात्रा व्यक्तिपिच्छे फरक पर्छ र आंशिक रूपमा यसको कारण आनुवंशिक पनि हो। अनि यति घण्टा नै सुत्नपर्छ भन्ने कुनै जादुमयी नम्बर छैन।

सेल्जिक यसलाई जुत्ताको आकारसँग तुलना गर्छन्। सामान्यतया मानिसहरूलाई छ नम्बरको जुत्ता ठिक हुने भए पनि अरू मानिसहरूलाई आठ नम्बर वा चार नम्बरको पनि ठिक हुन सक्छ। त्यसैगरी कसैलाई सात देखि आठ घण्टा भन्दा लामो निद्रा आवश्यक पर्छ भने कसैलाई त्यसभन्दा कम निदाए पनि पुग्छ।

"तपाईँका लागि जति समय उपयुक्त हुन्छ त्यति नै समय सुत्नु ठिक हो," उनी भन्छन्।

यदि तपाईँ साँच्चिकै छिटो निदाउन चाहनुहुन्छ भने उनी तीन वटा उपाय सुझाउँछन्।

हरेक दिन एउटै समयमा उठ्ने बानी गर्दा तपाईँलाई बेलुका पनि एउटै समयमा निद्रा लाग्न थाल्छ।

दोस्रो चाहिँ सकेसम्म दिउँसोको समयमा सुत्न हुँदैन। किनभने त्यसले तपाईँको निद्राको मात्रा खपत गर्छ र बेलुका सुत्न कठिन बनाउँछ।

तेस्रो चाहिँ तपाईँ थकित भएपछि मात्रै बिछ्यौनामा जानु उत्तम हुन्छ। यदि शरीर निदाउनका लागि तयार नहुँदै तपाईँ जानुभयो भने "तपाईँ लामो समयसम्म त्यहाँ ननिदाई रहने सम्भावना हुन्छ।"

"त्यसैले उठेर बस्नुहोस्, साँझको आनन्द लिनुहोस्, केही समय आफ्नो लागि दिनुहोस् र जब तपाईँको टाउको निहुरिन थाल्छ, आँखा बन्द हुन थाल्छन्, तपाईँले पढिरहनुभएको कुरामा ध्यान केन्द्रित गर्न सक्नुहुन्न, त्यो नै बिछ्यौनामा जाने उपयुक्त समय हो।"

सिपाहीको सुताइबाट हामी के सिक्न सक्छौँ?

"मिलिट्री स्लिप मेथड" उपयुक्त नाम नभएको ब्रिटिश सेनाका निद्रा विज्ञान तथा उपचार विशेषज्ञ डा एलेक्स रक्लिफ बताउँछन्।

"यो विधिको पछाडि कुनै पनि शारीरिक वा मनोवैज्ञानिक सैनिक आधार छैन," उनी भन्छन्।

वास्तवमा यो विधि गलत नभएको उनको भनाई छ। बिस्तारै मांसपेशीहरूलाई आराम दिँदै लामो श्वास फेर्ने विधि अहिले पनि सैनिकहरूलाई सिकाइने उनले बताए।

एउटै कोठामा १२ जनालाई राखिँदा तालिम लिइरहेका सैनिकहरू अविचलित रूपमा निदाउन चुनौती हुन्छ। आँखामा पट्टी लगाउने, कानमा केही राखेर बन्द गर्ने वा बिस्तारै ढोका खोल्ने वा बन्द गर्ने कार्य निद्राका लागि सहयोगी हुन सक्छन्।

अनि जटिल वातावरणमा सैनिकहरूले सुत्न अपनाउने विधि निश्चित मानिसहरूका लागि उपयोगी हुन सक्छन्।

उच्च तनाव हुने काममा खटाइएका व्यक्तिहरू राती राम्रोसँग सुत्न नपाउने आकलन गरेर यस्ता विधि अपनाएर अरू समयमा पनि छोटो समय निदाउन सल्लाह दिइन्छ।

तर राती छिटो निदाउनु छ भने अरू समय छोटो निदाउन सुझाव दिइँदैन। यद्यपि राती निद्रा प्रभावित हुने बच्चालाई दूध चुसाउने आमा जस्ता व्यक्तिहरूले भने यस्तो रणनीतिक छोटो निद्राबाट फाइदा लिन सक्छन्।

सर्वसाधारणहरूले सेनाबाट लिन सक्ने अर्को महत्त्वपूर्ण सीप पनि रहेको स्नायु वैज्ञानिक ब्रेगर बताउँछिन्।

सधैँ सुत्ने समयको नियमित तालिका बनाउनाले पनि मस्तिष्कलाई अब सुत्ने बेला भयो भनेर तयारी गर्ने वातावरण बनाउन सघाउँछ।

"त्यो अनुशासनबाट आउँछ। सैनिकहरू अनुशासनमा राम्रो हुन्छन् र ध्या�� भङ्ग कम गर्न पनि सक्षम हुन्छन्," उनी भन्छिन्।

हरेक दिन एकै समयमा बिछ्यौनामा जाने, मोबाइल चलाउन छोड्ने, पुस्तक पढ्ने र बत्ती बन्द गर्ने कुरा समयमै निद्रा चाहनेका लागि राम्रो सुरुआत हुन सक्छ।

"शरीरले यो कुरा छिट्टै बानी पार्छ। यदि तपाईँले हरेक दिन यो गर्दै जानु भयो भने निदाउन कुनै समस्या नै हुँदैन," ब्रेगर भन्छिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।