साउदी युवराजलई यूट्यूबमा व्यङ्ग्य गरेपछि 'फोन ह्याक र लन्डनमा कुटपिट'

गनेम अल-मसरिर र पृष्ठभूमिमा साउदी राजपरिवारका सदस्य

तस्बिर स्रोत, The Ghanem Show

तस्बिरको क्याप्शन, गनेम अल-मसरिरले यूट्यूबमा नयाँ भिडिओ पोस्ट गर्न छाडेका छन् तर अझै पनि उनको च्यानलमा छ लाख सब्स्क्राइबर छन्
    • Author, जो टाइडी
    • Role, बीबीसी न्यूज

करोडौँ 'भ्यू'का साथ यूट्यूबर गनेम अल-मसरिरले सफलताको उडान गरिरहेका थिए।

वेम्ब्लीमा रहेको आफ्नो फ्ल्याटबाट चर्को आवाज र कहिलेकाहीँ आक्रामक रूपमा ती हास्यकलाकारले साउदी अरबको राजपरिवारको आलोचकका रूपमा चर्चा पाइरहेका थिए।

तर प्रशंसकहरूजस्तै उनले केही शक्तिशाली शत्रुहरू पनि कमाएका थिए।

जासुसीको सिकार

अल-मसरिरले आफ्ना फोनहरूले अनौठो व्यवहार देखाइरहेको पहिलो पटक ख्याल गरे। फोन निकै सुस्त भइरहेका थिए भने ब्याटरी चाँडै सकिन्थ्यो।

त्यसपछि उनले लन्डनका विभिन्न भागहरूमा उही अनुहारहरू देखा परेको ठम्याए।

साउदी शासनका समर्थकजस्तो देखिने मानिसहरूले उनलाई सडकमा रोक्ने, सताउने र भिडिऔ खिच्ने काम गर्न थाले।

उनी कुन बेला कहाँ हुन्छन् भन्ने उनीहरूले कसरी थाहा पाए?

अल-मसरिरलाई आफ्नो फोन आफ्नै जासुसीमा प्रयोग गरिएको डर थियो। साइबर विशेषज्ञहरूले पछि उनी कुख्यात पेगासस ह्याकिङ उपकरणको सहयोगमा जासुसीको पछिल्लो सिकार बनेको पुष्टि गरे।

"त्यो त्यस्तो थियो कि मैले बुझ्न सकिनँ। उनीहरूले तपाईँको ठाउँ हेर्न सक्छन्, क्यामरा र माइक्रोफोन खोल्न सक्छन्। तपाईँको कुरा सुन्न सक्छन्," अल-मसरिरले बीबीसीलाई भने, "उनीहरूले तपाईँको डेटा, सम्पूर्ण तस्बिरहरू, सबै कुरा पाउँछन्। तपाईँ महसुस गर्नुहुन्छ कि तपाईँ दुर्व्यवहारको सिकार बन्नुभयो।"

छ वर्षको कानुनी लडाइँपछि ज्यानुअरी २६ मा लन्डनको उच्च अदालतले त्यसका निम्ति साउदी अरब जिम्मेवार रहेको ठहर गर्दै अल-मसरिरलाई क्षतिपूर्तिबापत ३० लाख पाउन्डभन्दा बढी रकम तिर्न आदेश दिएको छ।

'तिम्रो दिनगन्ती सुरु'

अल-मसरिर
तस्बिरको क्याप्शन, अल-मसरिरको आईफोन सन् २०१८ मा ह्याक भएको थियो

अल-मसरिरको आईफोन सन् २०१८ मा ह्याक भएको थियो। उनले विशेष ग्राहक योजनामा सहभागी हुन निम्तो दिँदै कुनै समाचारसंस्थाबाट पठाइएको जस्तो देखिने तीनवटा सन्देशका लिङ्कहरूमा क्लिक गरेपछि फोन ह्याक भएको थियो।

त्यसपछि उनलाई पछ्याउने र सताउने काम हुन थाल्यो अनि सन् २०१८ को अगस्ट महिनामा मध्यलन्डनमा कुटपिटसम्म भयो।

दुईजना अपरिचितहरू अल-मसरिरसम्म पुगेको, उनलाई हप्काएको, साउदी राजपरिवारबारे उनले कोसँग कुरा गरेको भनेर जान्न खोजेको, अनुहारमा मुक्का हानेको र त्यसपछि लगातार उनीमाथि आक्रमण जारी राखेको कुरा अदालतले जानकारीमा लिएको थियो।

बटुवाहरूले हस्तक्षेप गरेपछि यूट्यूबरलाई "कतारको दास" भन्दै "उसलाई पाठ सिकाउन" बताएर ती दुई व्यक्तिहरू पछि हटेका थिए।

उच्च अदालतका न्यायाधीशले शारीरिक आक्रमण नियोजित रहेको ठम्याउँदै एक आक्रमणकारीले 'एअरपीस' लगाएको उल्लेख गरेका छन्।

"आक्रमण र ह्याकिङमा साउदी अरेबियाबाट निर्देशित वा जिम्मेवारी दिइएको अथवा उसका प्रतिनिधिले त्यो काम गरेको बलियो आधार छ," न्यायाधीश पुष्पिन्दर सैनीले आफ्नो लिखित फैसलामा भनेका छन्, "साउदी सरकारको सार्वजनिक आलोचनालाई बन्द गर्न साउदी अरेबियाको स्पष्ट स्वार्थ र उत्प्रेरणा थियो।"

आक्रमणपछि पनि दुर्व्यवहार जारी रह्यो। सन् २०१९ मा केन्जिङ्टनको एउटा क्याफेमा एक बालकले अल–मसरिरलाई भेटेर साउदी राजा सलमानको प्रशंसामा गीत गाए।

त्यस घटनाको भिडिओ खिचियो र सामाजिक सञ्जालमा पोस्ट गरियो। उनकै ह्यासट्यागका साथ त्यो भिडिओ 'ट्रेन्डिङ' भयो र साउदी अरेबियाको सरकारी स्वामित्वको टेलिभिजनमा प्रसारण पनि भयो।

सोही दिन पश्चिम लन्डनको एउटा रेस्टुराँबाट निस्कँदै गर्दा एक व्यक्ति अल–मसरिरसम्म पुगे र हिँड्नुअघि उनलाई भने, "तिम्रो दिनगिन्ती सुरु भयो।"

अल-मसरिर साउदी अरबमा जन्मेका थिए तर २० वर्षभन्दा बढी समयदेखि ब्रिटेनमा बसेका छन्। उनी उनी पोर्ट्स्मथमा अध्ययन गर्न आएका थिए।

अब उनी एक ब्रिटिश नागरिक हुन् र वेम्ब्लीमा बस्छन्, तर अब घरबाट टाढा जाँदैनन्। आक्रमणपछि लन्डनको मुख्य भूभाग जानु अझै पनि उनका लागि डरमर्दो नै छ।

'निराश' र 'भयभीत'

साउदी युवराज मोहम्मद बिन सलमान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अल-मसरिरका भिडिओमा प्रायजसो साउदी युवराज मोहम्मद बिन सलमानप्रति कटाक्ष गरिएको हुन्छ

साउदी अरबका शासकहरू, विशेष गरी युवराज र वास्तविक शासक मोहम्मद बिन सलमानको आलोचना गरिएका व्यङ्ग्यात्मक भिडियोमार्फत् ४५ वर्षीय अल-मसरिर अरबी भाषाको संसारमा चर्चित बन्न पुगेका थिए।

अल-मसरिरका हास्यपूर्ण सामग्री र कहिलेकाहीँ साउदी सरकारमाथि व्यक्तिगत र आक्रोशपूर्ण आक्रमणहरू प्रायः भाइरल भएका छन्, जसले ३४ करोड ५० लाख भन्दा बढी 'भ्यू' कमाएका छन्।

सबैभन्दा धेरै हेरिएको एउटा क्लिप एक करोड ६० लाख पटक हेरिएको छ, जसमा उनले साउदी अरेबियामा युवतीहरू नाचिरहेको भाइरल भिडिओलाई लिएर आक्रोशित भएकामा अधिकारीहरूको आलोचना गरेका छन्।

यूट्यूबमा उक्त क्लिपको आवाज रहस्यमय रूपमा हटाइएको छ तर अल-मसरिरलाई त्यो कसरी र कहिले सम्पादन गरियो भन्ने थाहा छैन।

ह्याक र आक्रमण गरिएपछि अल-मसरिरले आफ्नो आत्मविश्वास गुमाएका छन्। उनी निराश र भयभीत छन्।

कुनै बेलाका हँस्यौला र स्पष्ट बोल्ने उनी बीबीसीसँग कुरा गर्न सहमत भए तर खुलस्त भएनन् र उनले आफ्नो अनुहार पूर्ण रूपमा देखाउन चाहेनन्।

उनले तीन वर्षदेखि कुनै भिडियो पोस्ट गरेका छैनन्। कानुनी रूपमा आफूले जिते पनि उनले साउदी सरकार आफूलाई चुप लगाउन सफल भएको बताएका छन्।

"त्यसले मलाई जति क्षति पुर्‍यायो, जतिसुकै रकमले पनि त्यसको शोधभर्ना गर्न सक्दैन," उनी भन्छन्, "ह्याकले मलाई साँच्चै नै परिवर्तन गरिदियो। म पहिलेको जस्तो गनेम होइन।"

टोरन्टो विश्वविद्यालयको सिटिजन ल्याबका स्पाइवेअर विशेषज्ञले अल–मसरिरको फोन पेगासस स्पाइवेअरबाट ह्याक गरिएको पुष्टि गरेका थिए।

उनीहरूले एक विश्लेषकलाई लन्डनमा पठाए र त्यो ह्याक साउदी अरेबियाले गरेको सम्भावना उच्च रहेको औँल्याए।

'पेगासस' के हो?

पेगासस इजरेली कम्पनी एनएसओ ग्रूपले बनाएको एउटा शक्तिशाली र विवादास्पद ह्याकिङ उपकरण हो।

एनएसओ ग्रूप आतङ्कवादीहरू र अपराधीहरूलाई पछ्याउन सहयोग गर्ने उद्देश्यले सरकारहरूलाई मात्र आफ्नो स्पाइवेअर बेच्ने गरेको बताउँछ।

तर सिटिजन ल्याबले अल-मसरिर सहित राजनीतिज्ञ, पत्रकार र विरोधीहरूको फोनमा त्यसको प्रयोग गरिएको पत्ता लगाएको छ।

अल-मसरिरले पहिलो पटक जब साउदी अरेबियाबिरूद्ध यो दाबी गर्ने प्रयास गरे, साउदी अरेबियाले त्यो राज्यको प्रतिरक्षासम्बन्धी ऐन १९७८ अन्तर्गत कानुनबाट संरक्षित रहेको तर्क गरेको थियो।

तर २०२२ मा अदालतले साउदी अरेबियालाई प्रतिरक्षाको व्यवस्था नभएको फैसला सुनायो। त्यस बेलादेखि कुनै पनि थप प्रक्रियामा उक्त देशको प्रतिनिधित्व छैन।

"साउदी अरेबिया यस आवेदनको जबाफ दिन वा प्रतिरक्षा गर्न विफल भएको छ र उसले थुप्रै थप आदेशहरूको अवज्ञा गरेको छ। यो दाबीमा उसले भाग लिने सम्भावना देखिँदैन," उच्च अदालतका न्यायाधीशले निष्कर्ष दिएका छन्।

आदेश दिइएको कुल क्षतिपूर्ति ३,०२५,६६२.८३ पाउन्ड हो तर साउदी अरबले त्यो रकम तिर्छ कि तिर्दैन भन्ने स्पष्ट छैन।

बीबीसीले लन्डनस्थित साउदी दूतावाससँग सम्पर्क गरे पनि कुनै जबाफ आएको छैन।

अल–मसरिरले आफू फैसला कार्यान्वयन गराउन दृढ रहेको र आवश्यक परे अन्तर्राष्ट्रिय अदालतको सहायता लिने बताएका छन्।

तर ह्याकले आफ्नो जीवनमा गरिदिएको उलटपलटको परिपूरण पैसाले गर्न नसक्ने उनको भनाइ छ। "म निराश छु कि उनीहरू लन्डनमा, ग्रेट ब्रिटेनमा यस्तो कुरा गरेर जोगिए," उनले बताए।

अल-मसरिरले साउदी अरेबियामा हालसालै आयोजित एउटा उच्चस्तरीय व्यङ्ग्यात्मक कार्यक्रमबारे पनि टिप्पणी गरेका छन्, जसमा जिमी कार, केभिन हार्ट, ओमिड जलिली र Bill Burr बिल बरलगायतले पनि प्रस्तुति दिएका थिए।

ह्यूमन राइट्स वाचले उक्त कार्यक्रम र भाग लिएका कलाकारहरूको आलोचना गरेको छ।

"एकातर्फ उनीहरूले त्यस्तो ठूलो कमेडी फेस्टिभल आयोजना गरिरहेका छन् र अर्कोतर्फ लन्डनमा दिउँसै एक कमेडिअनलाई ह्याक र आक्रमण गरिरहेका छन्," अल-मसरिर भन्छन्, "यसले तपाईँलाई देखाउँछ कि साउदी सत्ता कति पाखण्डी छ।"

"त्यहाँ गएका हास्यव्यङ्ग्य कलाकारहरूप्रतिको मेरो सम्मान धेरै हदसम्म टुटेको छ," उनले अनुभूति सुनाए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।