सुनको मूल्य बढ्नुका तीन र घट्नुको एउटा कारण

सुनका गहना समातिरहेको एक हात

तस्बिर स्रोत, EPA/Shutterstock

    • Author, फरिया मसुद
    • Role, व्यापार संवाददाता

बढ्दो विश्वव्यापी राजनीतिक अनिश्चितताबीच लगानीकर्ताहरूले सुरक्षित लगानीका क्षेत्रमा सम्पत्ति जम्मा गर्दा हालै सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै सर्वाधिक बिन्दुमा पुग्यो।

सोमवार एक आउन्स सुनको मूल्य पहिलो पटक ५,००० अमेरिकी डलर नाघ्यो। एक आउन्स सुनमा ३१.१०३५ ग्राम अर्थात् २.६६६७ तोला हुन्छ। त्यसभन्दा पनि बढेर सुनको मूल्य केही समय ५,५०० अमेरिकी डलर प्रति आउन्ससम्म पुग्यो।

सुन मात्र नभई चाँदीको मूल्यमा पनि त्यस्तै वृद्धि देखियो।

तर अमेरिकामा राजनीतिक स्थिरताको सङ्केतसँगै ती सबै बहुमूल्य धातुको मूल्यमा व्यापक गिरावट आएको छ। यद्यपि गत वर्षको तुलनामा मूल्य अहिले पनि उच्च नै छ।

ट्रम्पको अनिश्चितताले बदलेको लगानी

अमेरिकासँग व्यापार गर्न चाहने तर अमेरिकाका लागि प्रतिकूल लागेका देशमाथि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको कर वृद्धिका कारण विश्व व्यापारमा समस्या उत्पन्न भएको छ।

उनको व्यापार नीतिले लगानीकर्ताहरूलाई चिन्तित बनाइरहँदा सुनको मूल्य बढाउन मद्दत पुगेको हार्ग्रिभ्स ल्यान्सडाउनकी प्रमुख लगानी रणनीतिकार एम्मा वाल बताउँछिन्।

ज्यानुअरिमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनायो। तर अमेरिकाले ग्रीनल्यान्ड लिने ट्रम्पको प्रस्तावको विरोध गरेका आठ वटा युरोपेली देशहरूलाई नयाँ ट्यारिफको धम्की दिएपछि लगानीकर्ताहरू झस्किँदा शेअर बजारको मूल्य घट्यो।

क्यापिटल इकोनोमिक्सका अर्थशास्त्री हमाद हुसेन ट्रम्प प्रशासनको अमेरिकी विदेश र वित्तीय नीतिले निम्त्याउने जोखिम भन्दा सुन सुरक्षित लगानी रहेको बुझाइले यो बहुमूल्य धातुले "ध्यान खिचेको" बताउँछन्।

युद्ध र ग्रीनल्यान्डको धम्कीले बढेको अनिश्चितता

सुनका बारहरू

तस्बिर स्रोत, Reuters

युक्रेन र गाजाका युद्धहरूले राजनीतिक अनिश्चितताको वातावरणमा थप बल पुर्‍याएका छन्। भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई अमेरिकाले नियन्त्रणमा लिएको घटनाले पनि सुनको मूल्यलाई कीर्तिमानी स्तरमा पुर्‍यायो।

ग्रीनल्यान्ड लिने ट्रम्पको धम्कीहरूले विश्वव्यापी राजनीतिक तनाव बढायो र अर्कोतर्फ अमेरिकी डलरप्रतिको विश्वास ह्वात्तै घट्यो। जसका कारण लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा बहुमूल्य धातुहरूतर्फ आकर्षित भए।

गएको वसन्त ऋतुमा घोषणा गरिएको ट्रम्पको कथित "लिबरेसन डे" अर्थात् मुक्ति दिवसको ट्यारिफ लगत्तैको समयमा उनको कार्यकालभरिकै सबैभन्दा ठूलो धक्का डलरले बेहोर्‍यो।

"जब विश्व अस्तव्यस्त महसुस हुन्छ, सुनले आफ्नो काम राम्रोसँग गर्छ। बढ्दो व्यापारिक तनाव, भू-राजनीतिक उथलपुथल र अमेरिकामा व्याप्त राजनीतिक अनिश्चितताका बीच सुनको मूल्य अकासिएको छ," वाल भन्छिन्।

"अमेरिका, क्यानडा र चीनबीचको नयाँ टकराव, युरोप र मध्यपूर्वको अशान्ति अनि वाशिङ्गटनमा सरकारी कामकाज ठप्प हुने जोखिमले समेत सुनप्रति आकर्षण बढाएको छ।"

केन्द्रीय ब्याङ्कहरूको खरिद

सुनका बार अर्थात् बिस्कुटहरू

तस्बिर स्रोत, Getty Images

विश्वका कैयौँ देशका केन्द्रीय ब्याङ्कहरूले गरिरहेको खरिद पनि सुनको मूल्य वृद्धिको एउटा कारक हो।

"लगानीकर्ता र विश्वभरिका केन्द्रीय ब्याङ्कहरूले….सुनलाई आफ्नो सञ्चिति मुद्राका रूपमा रोजेका दिएका छन्। यसले अमेरिकी नीतिमाथिको परनिर्भरताबाट जोगाउने विश्वास उनीहरूको छ," वाल भन्छिन्।

"युक्रेनको समर्थन गरेका विश्वका कतिपय शक्तिहरूले रुसले ती देशमा सम्पत्तिको रूपमा जम्मा गरेको अमेरिकी डलर जफत गरिदिने चेतावनी देखेका छन्। त्यसपछि पनि सुनलाई बढी आकर्षक र तटस्थ सञ्चितिका रूपमा हेर्न थालिएको छ," उनी थप्छिन्।

केन्द्रीय ब्याङ्कहरूले सन् २०२२मा भन्दा अहिले बढी नै सुन किनिरहेका भए पनि सन् २०२५ मा यसको वास्तविक माग केही घटेको सङ्केत गर्ने हुसेन बताउँछन्।

केन्द्रीय ब्याङ्क बाहेक सुन किनिरहेको देश चीन हो। यो देश सुनको सबैभन्दा ठूलो खरिदकर्ता पनि हो। चीनमा व्यक्तिगत गहनाका रूपमा र लगानीका हिसाबले दुवै तर्फबाट सुनको माग उच्च छ।

पश्चिमी देशका लगानीकर्ताहरू पनि सुनका ठूला खरिदकर्ता हुन्। सुन किन्ने कम्पनीको शेअरमा लगानी गर्ने र आफैँ सुन किन्ने दुवै किसिमका लगानीकर्ता पश्चिमा देशहरूमा छन्।

बजारमा नयाँ खरिदकर्ताहरूले भारी मात्रामा सुन खरिद गरिरहेको र त्यसले पनि पछिल्लो समय मूल्यमा नाटकीय वृद्धि भएको हुसेन बताउँछन्।

यसको एउटा उदाहरण 'टेथर' हो। डिजिटल मुद्रा विशेषज्ञ कम्पनी टेथरले हालैमात्र व्यापक सुन खरिद गरेको छ। यसको सुन सञ्चिति केही साना देशहरूको भन्दा पनि बढी रहेको ठानिएको छ।

त्यसो भए पछिल्ला दिनमा किन सुन र चाँदीको मूल्य घट्यो?

सुनका गरगहना हेर्ने एक व्यक्ति

तस्बिर स्रोत, EPA/Shutterstock

पछिल्ला दिनहरूमा सुनको मूल्यले कीर्तिमानी उचाइ कायम गर्नुको एउटा कारण ट्रम्पले अमेरिकी सङ्घीय रिजर्भ ब्याङ्कका अध्यक्ष नियुक्त गर्ने डर पनि थियो। ट्रम्पबाट नियुक्त भएर आउने ती अधिकारीले ब्याजदर घटाउने ट्रम्पको इच्छा पूरा गरिदिने अनुमान भएका थिए।

ब्याजदर घट्दा डलरको मूल्य कमजोर हुने र मुद्रास्फीति बढ्ने भएकाले त्यसबाट बच्नका लागि सु���मा लगानीलाई एउटा रणनीतिका रूपमा हेरिएको थियो।

राष्ट्रपति ट्रम्पले अरू सम्भावित उम्मेदवारको तुलनामा यो मामिलाका लागि 'सुरक्षित' ठानिएका केभिन वार्शलाई मनोनित गर्ने विवरणहरू सार्वजनिक भएपछि सुन, चाँदी र प्लेटिनमको मूल्यमा गिरावट आयो।

यद्यपि, जारी भू-राजनीतिक तनाव, ट्यारिफ, थप ट्यारिफ लगाउने ट्रम्पका चेतावनीहरू अनि विश्वभरि भइरहेका द्वन्द्वका कारण बहुमूल्य धातुको मूल्य अझै पनि गत वर्षको यसै समयको तुलनामा धेरै माथि छ।

यसको अर्थ सुरक्षित सम्पत्तिको खोजीमा रहेका लगानीकर्ताका लागि सुन र चाँदीको चमक पहिलेभन्दा बढी आकर्षक महसुस भइरहेको छ।

सुनको सबैभन्दा ठूलो आकर्षणमध्ये एउटा यसको दुर्लभ उपलब्धता पनि हो। एबीसी रिफाइनरीका विश्वव्यापी संस्थागत बजारका प्रमुख निकोलस फ्रापेलले बीबीसीसँग भने, "तपाईँसँग यदि सुन छ भने यो कुनै ऋणपत्रजस्तो वा कम्पनीको प्रदर्शनमा भर पर्ने शेअर जस्तो हुँदैन।"

"यो अत्यन्त अनिश्चित विश्वमा लगानी विविधीकरण गर्ने एउटा राम्रो माध्यम हो।"

शुक्रवारको सुनको मूल्यमा देखिएको उतारचढावले यसको मूल्य जति तीव्र दरमा बढेको थियो त्यति नै तीव्र दरमा घट्न पनि सक्ने चाहिँ देखाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।